अपाङ्गता भएका व्यक्तिलाई विपदमा कसरी जोगाउने?
![]() |
तस्विरः सामाजिक संजालबाट |
अपाङ्गता भएकाहरूले पनि विभिन्न विभेद खेप्नुपर्छ र सामान्य अवस्थामा पनि आधारभूत सुविधा विना बाँच्नु परिरहेको छ।सामाजिक बेवास्ता र अवहेलनाबाट उनीहरूको जीवन झन् कष्टकर बन्दै जान्छ।आफ्नै शारीरिक, मानसिक चुनौती त छँदै छन्, सामाजिक कुरीति र आर्थिक कारणहरू अपाङ्गता भएका व्यक्तिहरूलाई अनुकूल परिवेश तयार गर्न बाधक भइरहन्छन्।
सन् १९७० को दशकमा विश्वको कुल जनसङ्ख्याको करीब १० प्रतिशत अपाङ्गता भएका मानिसहरूको आँकडा अनुमान गरिएको थियो।तर सन् २०११ मा विश्व ब्यांक र विश्व स्वास्थ्य सङ्गठनले प्रकाशन गरेको अपाङ्गता सम्बन्धी प्रतिवेदनमा अपाङ्गता भएकाहरू १५ प्रतिशत पुगेको अनुमान गरिएको छ।३०/४० वर्षमा अपाङ्गताको अनुपात यति धेरै बढ्नुमा प्राकृतिक प्रकोप, युद्ध र दुर्घटना लगायत मानवजन्य घटना मुख्य कारक हुन्।रोगव्याधि र प्रकोपका घटनाहरूका कारण विश्वमा विभिन्न प्रकारका अपाङ्गता भएका मानिसहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ।प्रकोपले अपाङ्गता बनाउँछ र अपाङ्गताकै कारण प्रकोपको सामना गर्न थप कठिन हुन्छ।
*पहिलो,उनीहरूलाई प्रकोप तथा तिनबाट जोगिन गर्नुपर्ने पूर्व तयारी सम्बन्धी जानकारीमा उनीहरूको पहुँच हुँदैन।देख्न, सुन्न, अरूसँग संवाद गर्न वा राम्ररी हिंडडुल गर्न नसक्ने अवस्थाका मानिसले अरूको सहयोग विना प्रकोपका बारेमा जान्न र तिनबाट बच्न अपनाउनुपर्ने आवश्यक जानकारीबाट वञ्चित हुनुपर्छ।परिणाम स्वरूप उनीहरूले प्रकोपको बारेमा उचित जानकारी नपाउन सक्छन्।
*दोस्रो, उद्धार तथा राहतमा उनीहरूको पहुँच कम हुन्छ र मानवीय सहायतामा छुट्ने
सम्भावना बढी हुन्छ। कतिपय शारीरिक र मानसिक अपाङ्गता भएका मानिसले आफूलाई के
भइरहेको छ वा के सहायता चाहिएको छ भनेर सहजै भन्न सक्ने अवस्था हुँदैन।उनीहरूको
आवश्यकता सहजै बुझेर सहयोग गर्न अरूलाई चुनौती हुन्छ।विपत्तिका बखतमा अपाङ्गता
भएका व्यक्तिहरूको विशेष ख्याल गर्न र तिनलाई समयमै सहायता गर्न सहायताकर्मी तथा
अन्य सेवा प्रदायकहरूले विशिष्ट किसिमका तालीम पाएका हुँदैनन्। स्रोतसाधनको कमी
पनि रहन्छ।
*तेस्रो, प्रकोपबाट जोगिन उनीहरूले आफन्त तथा अन्य सहयोगी सँग परनिर्भर हुनुपर्ने अवस्था हुन्छ।सामान्य जीवनयापन गर्न समेत अरूमा निर्भर हुनुपर्ने अवस्था हो अपाङ्गता।विपद् उद्धारक निकाय वा समुदायका स्वयंसेवी समूहका सदस्यहरूले अपाङ्गता भएका व्यक्तिलाई उद्धारमा प्राथमिकता दिनु जरुरी छ।तिनलाई उद्धार गर्ने उपयुक्त तालीम, उद्धार उपकरण र पूर्वाभ्यास सहितको तयारी सहयोगी क्रियाकलाप हुन्।यसो गरिएन भने अपाङ्गहरूले प्राथमिकता नपाउने सम्भावना ज्यादा हुन्छ।
शारीरिक रूपले अशक्त मानिसहरू प्रतिकूल वातावरणीय अवस्थाप्रति बढी संवेदनशील हुन्छन्। किनभने, उनीहरूको जोखिम सामना गर्ने क्षमता कम हुन्छ।उनीहरू तन्दुरुस्त मानिसभन्दा प्रकोपबाट बढी सताइने जोखिममा हुन्छन्।घाउ लागेको औंलामा ठेसैठेस भने झैं विपद् सामना गर्न उनीहरूलाई थप कठिनाइ आइलाग्छ।अर्थात्, अपाङ्गता भएकाहरूले विपद्बाट अरूले भन्दा बढी क्षति वा दुःख कष्ट बेहोर्नुपर्छ।
अपाङ्गता भएहरूलाई विपद्बाट बचाउन स्वयंसेवक र उनीहरूलाई उद्धार, तालीम तथा पूर्वाभ्यास गराइ रहनुपर्छ।पूर्व सूचना प्रणाली भएका ठाउँमा प्रकोपको खबर पुगेपछि अरूभन्दा अगावै अपाङ्गता भएका, वृद्धवृद्धा, बालबालिका, बिरामी, गर्भवती तथा सुत्केरीलाई सुरक्षित ठाउँमा जाने, लैजाने कार्यविधि लागू गर्नुपर्छ। अपाङ्गता भएका व्यक्तिलाई विपद् सामना गर्न साथ दिन परिवारका सदस्य, विपद् उद्धारक, सार्वजनिक सेवाका कर्मचारी तथा आश्रयस्थलका सहयोगी संलग्न हुन्छन्।उनीहरूले अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने विशिष्ट सहयोग गर्ने पर्याप्त ज्ञान, सीप जान्नु र सो प्रति प्रतिबद्ध रहनु अति महत्त्वपूर्ण हुन्छ।कार्यविधिलाई नियमित रूपमा परीक्षण र सुधार गर्नुपर्ने हुन्छ।
अपाङ्गता भएका व्यक्तिलाई विपद्को अवस्थामा थप असुरक्षाको जोखिम हुन्छ।विपद् पछिका राहत र पुनःस्थापना चरणमा अपाङ्गता भएकाहरूको जीवनयापन सहज बनाउन विशेष प्रविधि तथा आर्थिक लगानी आवश्यक पर्छ।विपद् सामना गर्न गरिने सबै मानवीय सहायता तथा सामाजिक सुरक्षा प्रणालीलाई अपाङ्गता मैत्री बनाउन जरुरी छ।समाजमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण र उनीहरूमाथि गरिने व्यवहारमा व्यापक सुधार अर्को आवश्यकता हो।सामाजिक चेतना र संस्कारमा परिवर्तन गरेर मात्र यो सम्भव हुन सक्छ।अपाङ्गता पूर्व जन्मको पाप कर्मको फल होइन।भ्रामक र गलत धारणाहरू हटाउन विद्यालयका पाठ्य पुस्तक, धार्मिक प्रवचन र तालीमहरुमा अपाङ्गताबारे सत्य कुरा समावेश गर्न जरुरी छ।विपद् पूर्व तयारी, प्रतिकार्य र पुनःस्थापना चरणमा गरिने सबै कार्यहरूमा अपाङ्गता भएका व्यक्तिका विशिष्ट आवश्यकता सम्बोधन गर्न उचित कानूनी प्रबन्ध गरिनुपर्छ।

Comments
Post a Comment